यूएस बंगला एयर विमान दुर्घटनामा निधन भएकाहरूको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावलम्बी संघ/संस्थाहरूले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन्।
आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने भएका हुन्।
नमो बुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको सुरूवात गरिने जानकारी दिइन्।
उनले भनिन्,‘केही समय अघि यूएस बंगला एयर विमान दुर्घटनामा परी ज्यान गुमाएका ५१ जना स्वदेशी तथा विदेशी नागरिकको नाममा बोधिसत्व वृक्षारोपण गरिने छ, हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ, उक्त कार्यक्रमले मृतकका आफन्तलाई सम्बोधन गर्नेछ, मृतकका आफन्तहरूले ति वृक्षहरूमा जल चढाएर आत्मशान्तिका लागि कामना गर्न सक्नु हुनेछ।’
उनले अघि थपिन्,‘हाम्रो मुलुकमा सरकार नभएको जस्तो, पीडितहरूको लागि कुनै वास्ता छैन, बंगलादेशमा अध्ययन गरी स्वदेश फर्किने क्रममा दुःखद घटना घट्यो, यस्तो स्थितिमा पनि सरकारले मृतकका आफन्तलाई सम्बोधन गर्न सकेको छैन, पढेका विद्यार्थीहरूको लक्ष्य र लगानीलाई सरकारले बुझ्नुपर्छ।’
नमोबुद्ध स्तुपा परिसर काभ्रेमा बिहान ८ बजेदेखि सुरू हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।