प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमणमा गएका ओली केही बेर अघि स्वदेश फर्किएका हुन्।
नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १२ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो। ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै फर्किएका ओलीलाई नेपाल सरकारका उच्च पदस्थ सरकारी अधिकारीले विमानस्थलमा स्वागत गरेका छन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि दिल्लीमा नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताएका हुन्। ‘नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पुर्याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ,’ ओलीले भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको प्रष्ट पारेको उनले बताए।
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो।
सबै तस्बिरहरूः नारायण महर्जन[caption id="attachment_148330" align="alignnone" width="720"]
तीन दिने भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः नारायण महर्जन[/caption]