भारतीय नेताहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन्।
नयाँ दिल्लीमा रहेका पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुबै दलका प्रभावशाली नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।
भारतीय गृहमन्त्री राजनाथ सिंहले पत्रकारसँगको कुराकानीमा भने,‘ओलीजीको भ्रमण सफल भयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ। भ्रमण कोशढुंगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु।’
उनले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए। मन्त्री सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि झनै सहयोग बढाउने वचन दिए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिलान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए। उनले नेपाल र भारत छिमेकी मात्रै नभई भातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक–अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान ओलीको भ्रमणसँगै मार्ग प्रशस्त भएको स्पष्ट पारे।
त्यस्तै, नागरिक उडड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे। भ्रमणको क्रममा ओलीको प्रस्तुती लोभलाग्दो भएको उनले जनाए।
नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमा क्रान्ति गर्ने समेत उनको विश्वास थियो। प्रभुले भने,‘नेपालले अब विकास गर्छ। आफू पर्यटनमन्त्री भएको नाताले नेपालको धार्मिक–पर्यटनको विकासमा सहयोग पुर्याउने पनि उनले प्रतिबद्धता जनाए।
कानून, न्याय, विद्युत तथा प्रविधि मन्त्री रविशंकर प्रसादले प्रधानमन्त्री ओलीको तीन दिने नेपाल भ्रमण फलदायी भएको विश्वास दिलाए। उनले ओलीको भ्रमण नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई नयाँ आयाममा पुर्याउन कोशेढुंगा सावित भएको जनाए।
भाजपाका महासचिव राम माधवले पनि ओलीको भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयामहरू थपिदिएको प्रतिक्रिया दिए।
त्यस्तै कंग्रेस आईका महासचिव द्धिगविजय सिंहले आफूहरूले पहिले पनि नेपालमा विकासको युगको सुरू हुनुपर्छ भनेको र अहिले पनि त्यो चाहना यथावत रहेको सुनाए।
उनले भने,‘यसपटक मोदीजीले आफूलाई परिवर्तन गर्दै नेपाललाई सहयोग गर्छौं भन्नुभयो, हामी उहाँको प्रतिबद्धतामा समर्थन गर्छौं। नेपालका प्रधानमन्त्रीको भ्रमणबाट हामी खुशी छौं। ओलीजीसँग हाम्रो अध्यक्ष राहुल गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भेट्नुभयो। हामी त उहाँको भ्रमणबाट निकै खुशी छौं।’
भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादका महासचिव सिताराम यचुरीले पनि ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरू भएको बताए। उनले भने,‘यो भ्रमणले नेपाल र नेपालीहरूको मात्रै होइन, भारतीयहरूको पनि मत जितेको छ, उहाँको भ्रमण सफल र फलदायी भएको छ।’