केन्द्रीय सामाजिक परिचालिका संघर्ष/समन्वय समितिकी संयोजक कविता थापाले सामाजिक परिचालिकाको बारेमा सरकार बेखबर बनेको आरोप लगाएकी छिन्।
आइतबार राजधानीमा संघर्ष/समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै बोल्दै संयोजक थापाले यस्तो आरोप लगाएकी हुन्।
उनले भनिन्,‘हामी चैत १७ गतेबाट भद्रकालीमा आमरण अनसन बसिरहेका छौं, हामी अन्यायमा पर्यौं भनेर रुदाँकराउँदा पनि सरकारले सुनेन र अनसन बस्न बाध्य भयौँ, यति गर्दा पनि सरकारले कुनै वास्ता गरेको छैन।’
उनले अघि थपिन्,‘हामीहरू ग्रामीण भेगमा काम गर्ने महिला हौँ, हामीले युद्धको बेलामा पनि सामाजिक परिचालिकाको रूपमा जनताको सेवाको लागि काम गर्यौं, आजको दिनमा पनि गरिरहेका छौँ, २०५६ सालदेखि सामाजिक परिचालिकाको रूपमा काम गर्दै आएका हामी महिलाहरूको सुरूमा १५ सय, बीचमा २ हजार, ३५ सय र आजका दिनमा मासिक पाँच हजार तलब छ, यसले हाम्रो श्रमको मूल्य चुक्ता हुन सक्दैन, हाम्रो श्रमको मूल्य के मासिक ५ हजार मात्रै हो ? यदि काम गर्नको लागि हामी आवश्यक छैनौं भने हटाउनु पर्यो, होइन भने काम अनुसारको दाम प्रदान गर्नुपर्यो, अब हामी कि वार कि त पार नहुञ्जेल आमरण अनसनलाई जारी राख्ने छौं।’
आन्दोलन बिना अधिकारको सुरक्षित नहुने भन्दै संयोजक थापाले भनिन्,‘यो सरकारले हाम्रा मागहरूको बारेमा सुन्नेवाला छैन, हामीले आन्दोलनलाई तताउनु पर्ने देखिन्छ।’
उनले भनिन्,‘सरकारले केही दिन अघि सामाजिक कर्मचारी संघका कर्मचारीहरूका मागहरू सम्बोधन गरेको छ, देशभरमा ६ सय ९७ जना मात्रै महिला सामाजिक परिचालिका छौँ, हामीलाई सरकारले व्यवस्था गर्न कुनै गाह्रो हुन्छ भन्ने मलाई लाग्दैन, मुलुकभरिका महिला तथा बालबालिका कार्यालयमा कार्यरत महिला सामाजिक परिचालिकाको तत्काल व्यवस्था नगरे कडा आन्दोलन हुन्छ, आमरण अनसनमा बस्नुभएका महिला दिदीबहिनीहरूको स्वास्थ्य स्थिति निक्कै कमजोर बनेको छ, यस्तो स्थितिमा पनि सरकार गम्भीर बन्दैन, हाम्रो विकल्पमा आन्दोलन बाहेक अरु कुनै विकलप छैन।’