नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको १३ औँ दिनको पुण्यतिथिको कार्यक्रम गृह जिल्ला दाङमा हुने भएको छ।
नेपाली कांग्रेस दाङले लमही नगरपालिका वडा नम्बर ८ स्थित खड्काको निवासमा चैत २८ गते शुद्धशान्तिको कार्यक्रम हुने जानकारी दिएको छ।
चैत्र २८ गते १३ औँ दिनको पुण्यतिथि परेको हुँदा शुद्धशान्तिको कार्यक्रम सतवरियास्थित स्वर्गीय नेता खड्काको निवासमा आयोजना गर्न लागिएको कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले सेतोपाटीलाई जानकारी दिए। उक्त दिन सतवरियामा हुने अन्तिम दिनको शुद्धशान्तिको कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, शंकर भण्डारी, रमेश जंग रायमाझी, पुष्पा भुषाल, इन्द्रबहादुर बानियाँ लगायतका आउने टुंगो लागेको दाङका पार्टी सभापति खड्काले जानकारी दिए।
१३औँ दिनको पुण्यतिथिमा देशका विभिन्न जिल्लाबाट शुभचिन्तक तथा नेता कार्यकर्ता आउने जानकारी आफूलाई दिएको सभापति खड्काले बताए। १३ औँ दिनका दिन स्व.खड्काका एक मात्र छोरा अनुराग खड्का सतवरियाको पुर्खेली घर सतवरिया आउने जानकारी दिइएको छ।
अनुरागले २९ गते नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता भातृ संगठनका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए। २४ वर्षीय अनुराग खड्का हाल स्कटल्याण्डमा एमएमको अन्तिम पढाई गर्दै छन्।
पार्टी सभापति देउवा, महामन्त्री कोइराला, अनुराग खड्का उक्त दिन एउटै प्लेनमासँगै बाँके आउने छन् र त्यसपछि दाङको सतवरियास्थित घर आउँदा पनि सँगसँगै आउने जानकारी दिइएको छ। स्वर्गीय खड्काका छोरा अनुराग खड्कालाई राजनीतिमा तान्ने प्रयास हुनसक्ने अनुमान गर्न थालिएको छ।
१३ औँ दिनका दिन काठमाडौंको सानेपास्थित खड्काको निवासमा भने रक्तदानको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तरुण दलका नेता महेश श्रेष्ठले जानकारी दिए। तरुण दल र नेविसंघले संयुक्त रूपमा सानेपानीमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको नेविसंघका उत्सव खड्काले जानकारी दिए। नेता खड्काको ६७ वर्षको उमेरमा भारतको डिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा चैत १६ गते निधन भएको थियो ।