नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पारस्परिक सम्मान र समानताका साथ एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता हुने बताएका छन्।
संख्या र शब्दावली एकताको लागि महत्त्वपूर्ण विषय नभएको भन्दै उनले दुवै पार्टीका नेता तथा कार्यकर्ताको सम्मान र समानता महत्त्वपूर्ण भएको बताए।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘एमाले र माओवादी केन्द्रबीचको एकता कसैलाई हेलोहोंचो गरेर र तल पारेर गर्ने होइन, पार्टीमा काम गरेका नेता कार्यकर्ताको इतिहास, योग्यता र योगदानको आधारमा जिम्मेवारी प्रदान गरिन्छ।’
उनले दुई पार्टीबीचको एकता एमाले र माओवादी केन्द्रका लागि मात्र नभई नेपाली जनता र राष्ट्रको हितको लागि गरिने दाबी गरे। नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिन वैशाख ९ गते ठूलो जनसहभागिताको बीच औपचारिक घोषणा गरिने भन्दै पार्टी एकताको बारेमा आशंका नगर्न आग्रह गरे।
दुई पार्टी बीचको एकताको विषयमा जनयुद्ध शब्द र चुनाव चिन्हको विषयमा विवाद र मारामार देखाउन खोजिएको भन्दै जनताको बीचमा जुन चिन्ह लोकप्रिय छ त्यसलाई सबैले स्वीकार गर्ने बताए।
नेता पौडेलले सरकारको आलोचना गर्नुपर्ने कुनै विषय नपाउँदा कठिनाइ र विक्षिप्त अवस्थामा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको आरोप लगाए।
‘सरकारको आलोचना गर्न नेपाली कांग्रेससँग कुनै एजेण्डा छैन, कांग्रेसको त्यो पीडा बुझेका छौं’, उनले भने।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले लोकतन्त्रको लागि जीवनभर लडेको व्यक्ति र पार्टी अधिनायकवादतर्फ जान्छ भन्नु हास्यास्पद कुरा भएको भन्दै बहुमतको नाममा सरकारमा कुनै दम्भ नभएको स्पष्ट पारे।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै नेता पौडेलले आवश्यकता र सरकारको कार्यक्रम अनुसार प्रधानमन्त्री जुन देशमा पनि पहिलो भ्रमणमा जान सक्ने बताए।
उनले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दाबी समेत गरे। छोटो समयमै सरकारले केही सकारात्मक संकेतहरू देखाएको उल्लेख गर्दै अबको काम विकास, समृद्धि र सामाजिक न्यायको लागि हुने बताए।