कर्णाली प्रदेशका सांसदहरुले बुधबार बसेको नवौँ बैठकमा सांसदमाथि भएको आक्रमणको भत्र्सना गरेका छन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार निर्माण मन्त्री चढ्ने गाडी समेत तोड्फोड् गरेका थिए।
संसद बैठकमा बोल्दै घटनामा परेका सांसद् धर्मराज रेग्मीले आफूमाथि सांघातिक रूपमा आक्रमण भएको बताउँदै आफू सीटमुनि टाउको लुकाएर बाँचेको बताए ।
‘मैले पनि विश्वविद्यालय अध्ययन गरेको हुँ,’ उनले भने, ‘कस्तो शिक्षा दिएछन् प्राध्यापकहरूले हाम्रो विश्वविद्यालयमा, मलाई लाज लागेर आयो।’ उनले आफूले प्रहरी डिआइजीलाई खबर गरेको २५ मिनेटसम्म प्रहरी नआइपुग्नु दु:खद भएको बताए।
‘प्रदेश प्रहरी कसको अधिनमा छ, कसले चलाउँदैछ, ’ उनले भने, ‘सांसदको सुरक्षामा त यति लापरवाही छ भने जनताको अवस्था झन् के होला?’ सुरक्षाको यही अवस्था रहे समृद्धि कसरी आउला उनले बैठकमा प्रश्न गरे।
बैठकमा सांसद् अम्मरबहादुर थापाले संसदले सरकारको सुरक्षाका लागि ध्यानाकर्षण गर्नेभन्दा पनि सरकारै असुरक्षित महसुश भएको बताए। ‘सरकार पहिले आफ्ना मन्त्रीहरूको सुरक्षा गर,’ उनले भने, ‘अनि मात्र प्रदेशका जनताको सुरक्षा गर्न माग गरौँला।’
सांसद कुर्मराज शाहीले गाडिमाथि ढुगांमुढा हुनु अपराध भएको बताए। उनले यस्ता अपराधीहरूलाई तत्काल समातेर कानूनी कठघरामा उभ्याउन माग गरे।
अर्का सांसद अमृता शाहीले उक्त घटनाप्रति खेद् प्रकट गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिन्।
सांसद सिताकुमारी नेपालीले सांसद रेग्मीमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको बताउँदै घटनाको भत्र्सना गरिन्। उनले सरकार गठन भएको डेढ महिनामै मुख्यमन्त्रीको राजीनामा माग गरिनु गम्भीर षड्यन्त्र भइरहेको बताइन्।
सांसद गणेशप्रसाद सिंहले यस्ता आपराधिक घटनाहरू पहिले नै पत्ता लगाउन सबैतिरको सूचना संकलन गर्ने संरचना बनाउनुपर्ने माग गरे ।