भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन्।
बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन्।
उनले भने,‘प्रधानमन्त्रीले त दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौं, अहिले द्रुत गतिले काम भैरहेको छ, दुई वर्षभित्र त हामी रेलमार्गको लागि धेरै काम गरिसकेका हुनेछौं, यो सरकारको चाहना पनि हो, जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पुर्याउँछौं, त्यसैगरी काठमाडौंबाट विरगञ्ज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन वीरगञ्ज–काठमाडौं जोड्ने सोच बनाएका छौं, अरु त डिपीआर भएर काम नै सुरूवात भैसकेको छ।’
साक्षात्कारमा बोल्दै उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए। मन्त्री महासेठले थपे,‘यसको लागि हामीले धेरै डिपीआर बनाइसकेका छौं, कामहरू धमाधम भैरहेका छन्, त्यस्तै उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं र पोखरा र पोखरा र लुम्बिनी, हामी लुम्बिनीलाई केरुङ रुट र तराईबाट आउने रुटबाट पनि जोड्न चाहन्छौं, यदि त्यो मात्रै पनि जोड्न सक्यौं भने यसमा दुवै देश भारत र चीनलाई पनि फाइदा छ, नेपाललाई त हुने नै भयो।’
५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने उनले विश्वास दिलाए।
उनले भने,‘हेर्नुहोस्, यो पाँच वर्ष त धेरै छोटो समय हो, जापानले बनाइदिएको सडक बनेपा–बर्दिवास १९८२ मा सुरू गरेको हो, तर २०१५ मा सम्पन्न भयो, हामीले त कम्तिमा पनि ५ वर्ष भनेर भनेका छौं, लुम्बिनीसम्म रेल पुर्याउन कम्तिमा पनि ५ वर्ष समय लाग्छ, त्यही भएर मैले यसो भनेको हुँ।’
मन्त्री महासेठले थपे,‘नेपालमा कुद्ने रेल भारतको रेल होइन, त्यो नेपालको रेल हुन्छ, नेपालमा कुद्छ, र आधुनिक रेल नै हामी कुदाउँछौं, तपाईहरूलाई भ्रम नहोस् कि रेलको नाममा जसरी पहिले चल्दै थियो त्यसलाई नै डेन्टपेन्ट गरेर होइन, हामी आधुनिक रेल नै चलाउँछौं।’
नेकपा एमालेका नेता समेत रहेका मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको सुनाए।
‘यो राजमार्गको लागि हामीले ६ खण्ड छुट्टयाएका थियौं, त्यसमध्ये एक खण्डको काम करिब–करिब सम्पन्न भैसकेको छ, ७० किमिको एउटै सेक्टरमा त करिब पिच नै भैसकेको छ, १५१ पुलमध्ये ५२ वटा पुल पूर्ण रूपमा बनिसकेको छ, ६० पुल पूर्ण हुने चरणमा छन्, बाँकी रहेका पुलहरू निर्माणको लागि डिजाइनको अन्तिम–अन्तिम फेजमा छन्।’
यो पाँच वर्षभित्रमा आफूहरूले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ/टोललाई जोड्ने उनको विश्वास थियो।
उनले थपे,‘५ वर्षभित्रमा यो काम सम्पन्न गर्नेमा हामी विश्वस्त छौं, यसमा नेपाली जनताको पनि सहयोग भैरहेको छ, त्यस्तै सफ्ट लोनमा भारतबाट हामीले एक्जिट बैंकमार्फत भक्तपुर–नुवाकोट सडक र बालाजु–नुवाकोट सडक धेरै कामहरू भैरहेका छन्।’
नेपालको विकासमा भारतको पौराणिक कालदेखि सहयोग रहँदै आएको सुनाउँदै उनले थपे,‘विगतमा हामीबीच रहेको ऐतिहासिक र सुमधुर सम्बन्धलाई कायम राख्दै यो सरकार अझै धेरै मित्रताको अपेक्षासहित भारत भ्रमणमा जाँदैछ, हिजो जुन सानोतिनो कही शंका तथा उपशंका थियो होला, यसपालिको भ्रमणले ती सबै समाप्त हुन्छन्, जुन हाम्रो बारेमा भारतविरोधी भनेर कू–प्रचार गरिएको थियो, यो पनि यसपालिबाट समाप्त हुन्छ, किनकी नेकपा एमाले र खासगरी वाम गठबन्धनको यो सरकार एउटा कुरामा के विश्वस्त छ भने नेपाललाई दुवै मित्रराष्ट्रको समान सहयोग चाहिन्छ, भारतको पनि उतिकै सहयोग चाहिन्छ, जति चीनको चाहिन्छ, चीनको पनि उत्तिकै सहयोग चाहिन्छ, जति भारतको चाहिन्छ, नेपाली भू–भागलाई हामी कसैको विरुद्धमा पनि प्रयोग हुन दिँदैनौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणका टोली सदस्य समेत रहेका मन्त्री महासेठले यस पटकको भ्रमणमा सन्धि/सम्झौता हुने संभावना आफूले कमै देखेको सुनाए।
त्यस्तै उनले पानीजहाज चलाउनेबारे पनि होमवर्क भैरहेको सुनाए । उनले भने,‘पानीजहाजको बारेमा पनि होमवर्क सुरू छ, गंगा नदीलाई हामीले प्रयोग गरेर, नेपालको आफ्नो पोर्ट हामी बंगलादेशमा राख्न सक्छौं, भारतमा पनि राख्नसक्छौं, हामी लिजमा राख्नसक्छौं, जसरी जयनगरको रेल–वे स्टेशन छ, भारत सरकारसँग हामीले १०० वर्षको लिज लिएर चलाएका हौं, त्यस्तै भारत सरकारसँग हाम्रो द्धिपक्षीय सहमति भयो भने कुनैपनि ठाउँमा हामी आफ्नो पोर्ट बनाउन सक्छौं, त्यस्तै बंगलादेशसँग पनि सहमति भयो भने हामी बनाउन सक्छौं, हाम्रो नजिकमा अहिले दुई वटा छ, एउटा कोलकत्ता बन्दरगाहा र विशखापटन छ, त्यो भन्दा पनि नजिक कहाँ छ, यो सरकारले ५ वर्षभित्र पानीजहाजको पनि व्यवस्था गर्छ, त्यो पनि नेपालको झण्डा राखेर र आफ्नो पोर्ट बनाएर सरकारले पानीजहाज चलाउँछौं, तपाईहरु ढुक्क हुनुहोस्।’
भारतबाट विगतकालदेखि नै नेपाललाई सहयोग रहँदै आएको उल्लेख गर्दै उनले थपे,‘नेपालमा हामीले रेलमार्गको कुरा उठाइसकेका छौं, यो भ्रमणबाट रेलमार्गको क्षेत्रमा अरु के बढाउन सक्छौं, त्यो त पछिको कुरा हो, अहिले पनि भारतीय सहयोगमा जयनगर–जनकपुर–बर्दिवाससम्म रेलमार्गको लागि डिपीआर भएर काम सुरू भैसकेको छ, आउने असारभित्र वा आउने दशैंसम्म ब्रोडगेज आउँछ।’