पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग आर्थिक विकासको एजेन्डामा केन्द्रीत भएर विषय उठान गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले राख्नुपर्ने एजेन्डाका विषयमा परामर्श गर्न बोलाएको परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकतामा साथ उठान गर्न सुझाव दिएका हुन्।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ भारत सरकारसँग उठान गर्न पूर्व प्रधानमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको एमाले नेता एवम् परराष्ट्रविद् राजन भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरूले विगतमा भएका सहमतिको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने वातावरण बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री ओली आगामी शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा जाँदैछन्। सोही सम्बन्धमा प्रधानमन्त्री ओलीले बुधबार बिहान नेपाल भारत प्रबुद्ध समूह, नेपाल–भारत मामिलाका विज्ञहरूसहित पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका थिए।
करिब पौने २ घण्टा लामो परामर्शमा पूर्व प्रधानमन्त्रीहरूले बलियो र स्थायी सरकारको रूपमा हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुने विश्वास पनि व्यक्त गरेका थिए। परामर्श बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति थियो।
https://www.youtube.com/watch?v=D4urC-8YDrE&feature=youtu.be