स्थानीय सरकार प्रमुखहरूले जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि काठमाडौं आएका नुवाकोट तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो गाउँपालिकालाई अनुसाशित, मर्यादित र भ्रष्टाचारमुक्त बनाउने घोषणा पनि गरे।
उनले जनताको आकांक्षा सम्बोधन गर्नु नै आफूहरूको दायित्व भएको पनि स्मरण गराए।
बैतडीस्थित पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले आफ्नो गाउँपालिकालाई समक्ष बनाउने योजना अघि सारे। उनले महासंघको नयाँ नेतृत्वले गाउँपालिकालाई समक्ष बनाउन आवश्यक मार्ग निर्देशन गर्ने विश्वास पनि व्यक्त गरे।
सोमबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा ७ सय ५३ वटा गाउँपालिकाका प्रतिनिधिहरू सहभागी भएका छन्। तात्कालीन गाउँ विकास समिति महासंघ मुलुक संघीयतामा गएपछि गाउँपालिका राष्ट्रिय महासंघमा परिणत भएको हो। महाधिवेशनमा स्थानीय सरकारको विकास र सुशासनका विषयमा व्यापक छलफल भइरहेको दाबी गरिएको छ।