नेपाली कांग्रेस दाङको शनिबार बिहान बसेको आकस्मिक बैठकले प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको मृत्युको शोकमा १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ।
जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उपचारका क्रममा दिल्लीको एपोलो अस्पतालमा निधन भएका ६६ वर्षीय खुमबहादुर खड्काको मृत्युको शोकमा १३ दिनसम्म जिल्ला, नगर, वडा तथा ईकाइहरूमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए। आकस्मिक बैठकले खड्काको मृत्युमा शोक प्रस्ताव पारित गरेको छ।
बैठकले १३औँ दिनसम्म दाङ जिल्लाका सबै समितिहरू क्षेत्र, नगर, गाउँ वडा कार्यसमितिहरूमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको अर्का सचिव टेकबहादुर वलीले जानकारी दिए। सचिव वलीका अनुसार जिल्लाका सबै समितिहरूमा १२औँ दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने, शान्ति दीप प्रज्ज्वलन गर्ने, १३ औँ दिनसम्म पार्टीका कुनैपनि आधिकारिक कार्यक्रम र गतिविधि सञ्चालन नगर्ने निर्णय भएको छ।
त्यस्तै, जिल्ला कार्यसमिति दाङमा १३ औँ दिनसम्म शान्ति दीप प्रज्ज्वलन गर्ने, खुमबहादुर खड्काको अस्तु धार्मिक महत्त्वका नदीहरूमा,घाटमा विसर्जन गर्ने निर्णय बैठकले गरेको छ। उक्त कार्यको लागि ५ औँ दिनदेखि ७ औँ दिनसम्म गाउँ नगर र ८ औँ दिनदेखि १२औँ दिनसम्म क्षेत्रले र १३औँ दिनको शुद्ध शान्ति र अस्तु विसर्जनको कार्यक्रम जिल्लाले गर्ने निर्णय आकस्मिक बैठकले गरेको छ।