पाँच नम्बर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मैले बाबुआमालाई पालेको छु होइन म बृद्ध बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कारको आवश्यकता रहेको औल्याएका छन्।
जेष्ठ नागरिक महासंघको राष्ट्रिय सम्मेलन एवं छैठौं महाधिवेशनको उद्घाटन अवसरमा शनिबार घोराहीमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभामुख घर्तीले पछिल्लो समय पूँजिवादका कारण परिवारहरू छिन्न भिन्न हुँदै गएको बताए।
‘शहरीकरण, विकास, पूँजीवाद जस्ता कारणले छिमेकी, परिवार टाढा हुँदै गएका छन्,’ उनले भने, ‘गाउँले जीवन भन्दा शहरीया जीवनको परिवार विखण्डन हुँदै गएको छ।’
आधुनिक युगमा पूँजीवादले परिवारको अपनत्व गराउन नसकेको, एकै ठाउँमा भए पनि मन फरक फरक ठाउँमा हुने गरेको उनको भनाई थियो। ‘जीवनभर लालनपालन र शिक्षदिक्षा दिने आमाबाबुलाई छोराहरुले पालेको छु भनेर भन्ने संस्कार विकास भएको छ,’– उनले थपे, ‘आमाबाबालाई पालेको हैन म आकाबासँग बसेको छु भनेर गर्व गर्ने संस्कार विकास गर्न जरुरी छ ।’
घर्तीले जेष्ठ नागरिकहरु ज्ञान, अनुभव र क्षमताले भरीपूर्ण भएको भन्दै उनीहरुको त्यस क्षमता राज्यले सदुपयोग गर्न जरुरी रहेको औल्याएका छन् । जेष्ठ नागरिकहरुले जीवनको लामो कालखण्ड विभिन्न पेशा, व्यवसाय, र कर्ममा लागेर शैक्षिक, व्यवहारीक अनुभव प्राप्त गरेकाले उनीहरुको त्यो अनुभव राष्ट्रको आवश्यकता अनुसार तत्तत क्षेत्रमा प्रयोग गरे देशलाई फाइदा पुग्ने उनको भनाइ थियो।
सो अवसरमा बोल्दै उनले जेष्ठ नागरिक मैत्री कानून र सोही अनुसारको संस्कार निर्माण गर्ने दायित्व राज्यको भएको पनि बताए । अहिले संघ, प्रदेश र स्थानीय तहको सरकार गठन भइसकेको भन्दै उनले सवै तहले जेष्ठ नागरिकको सरोकारका विषयमा गम्भीर भएर कानून निर्माण गर्नुपर्ने र त्यसलाई लागू गर्न तत्परता देखाउनु पर्ने पनि धारणा राखे ।
कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पछिल्लो समय आदरभाव, सेवाभाव घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै व्यवहार परिवर्तन गर्न आवश्यक रहेको औल्याएका थिए।
कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गौतम, नेकपा माओवादी केन्द्रका लुमबहादुर कार्की, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले राजनीतिक दल, स्थानीय सरकार जेष्ठ नागरिक प्रति जिम्मेवारी वोध गरेर अघि बढीरहेको बताएका थिए। जुन घरमा बाबुआमालाई श्रद्धा गरिन्छ त्यस घरमा मात्रै सुख र शान्ति प्राप्त हुने बताएका थिए । उनीहरुले मानिस त्यसै वृद्ध नहुने भन्दै जीवनभर उनीहरुले समाजका लागि गरेको योगदानको कदर स्वरुप पनि परिवार र समाजले उनीहरुको सम्मान गर्नु पर्ने पनि औल्याएका थिए ।