नेपाली कांग्रेस दाङको शनिबार बिहान बसेको आकस्मिक बैठकले प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्का मृत्युको शोकमा १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ।
जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उपचारका क्रममा दिल्लीको एपोलो अस्पतालमा निधन भएका ६६ बर्षीय खुमबहादुर खड्काको मृत्युको शोकमा १३ दिनसम्म जिल्ला, नगर, वडा तथा ईकाइमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए।
आकस्मिक बैठकले खड्काको मृत्युमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले १३औं दिनसम्म दाङ जिल्लाका सबै समितिहरु क्षेत्र, नगर, गाउँ वडा कार्यसमितिहरुमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको अर्का सचिव टेकबहादुर वलीले जानकारी दिए।
सचिव वलीका अनुसार जिल्लाका सबै समितिहरुमा १२औं दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने, शान्ति दीप प्रज्वलन गर्ने, १३औ दिनसम्म पार्टीका कुनै आधिकारिक कार्यक्रम र गतिविधि सञ्चालन नगर्ने निर्णय भएको छ।
त्यस्तै जिल्ला कार्यसमिति दाङमा १३औं दिनसम्म शान्ति दिप प्रज्वलन गर्ने, खुमबहादुर खड्काको अस्तु धार्मिक महत्वका नदीमा, घाटमा विर्सजन गर्ने निर्णय बैठकले गरेको छ।
उक्त कार्यको लागि ५औं दिनदेखि ७औं दिनसम्म गाउँनगर र ८औं दिनदेखि १२औं दिनसम्म क्षेत्रले र १३औं दिनको शुद्ध शान्ति र अस्तु विर्सजनको कार्यक्रम जिल्लाले गर्ने निर्णय आकस्मिक बैठकले गरेको छ।
खड्काको अन्तेष्टि आइतबार गरिनेउपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति १० बजेतिर मात्रै नेपाल ल्याइने भएको छ ।
अध्ययनको लागि नेता खड्काका छोरा अनुराग खड्का बेलायतमा रहेको हुँदा उनको बाटो कुर्दा शव ल्याउन ढिलाई भएको पारिवारीक स्रोतले बताएको छ।
अनुराग दिल्ली पुगेपछि विमानबाट खड्काको शव शनिवार राति नेपाल ल्याउने तयारी गरिएको हो।
पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता खड्काको शव काठमाडौं ल्याइएपछि राति नै सानेपास्थित निवासमा राखिने छ। खड्काको शव रातभरी निवासमा राखेर आइतबार बिहान ९ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने छ।
दिउँसो एक बजेसम्म श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने कार्यक्रम छ।
त्यसपछि आइतवार दिउँसो सानेपाबाट शव यात्रासहित पशुपति आर्यघाटनमा लगेर अन्त्यष्टि गर्ने तयारी गरिएको कांग्रेस नेताले जानकारी दिए।