प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरे।
सांसद बडूले दार्चुलाको सीमानामा भारतीय पक्षबाट एकपक्षीय रूपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराए।
सांसद हृदयेस त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।
नेकपा (माओवादी केन्द) का प्रभु साहले तराईमा बाढीपीडित जनताका समस्या यथावत् रहको भन्दै तत्काल पुनःस्थापना र दीर्घकालीन राहतको माग गरे।
उनले आगामी वर्षामा आउन सक्ने बाढीको सम्बन्धमा सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेण्डाका सम्बन्धमा संसद्लाई जानकारी गराउनुपर्छ भने।
राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गरे। उनले जनताका भावनासँग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेर मात्र काममा प्रगति नहुने धारणा व्यक्त गरे।
संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भए पनि पुरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले तराईमा आएको असिना पानीबाट कृषिमा भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण पनि गराए।
राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करीब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरिन्।
एमालेका राजेन्द्रप्रसाद गौतमले संखुवासभामा भएको जिप दुर्घटनाको जानकारी गराउँदै दुर्घटनामा निधन भएकाको सम्मानसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।
कांग्रेसका जीवछिरिङ लामाले भूकम्पपीडितका घर द्रुत गतिमा निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए।
माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लामा अस्पताल भए पनि डाक्टर नभएको र सडक भए पनि यातायातको व्यवस्था नभएको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
माओवादी केन्द्रका गंगा सत्गौवा चौधरीले गौतमबुद्ध जन्मेको देशमा गाई काटेर खान पाउनुपर्छ भन्ने विषय सार्वजनिक भएको विषयप्रति टिप्पणी गर्दै कुनै पनि धर्मका नाममा पशुको काटमार गर्नु अमानवीय हो भनिन्।
कांग्रेसका राजेन्द्र केसीले दक्षिणकाली बस दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग माग गरे। रासस