शिक्षक सेवा आयोगले चैत २३ गते गर्न लागेको शिक्षक स्थायी परीक्षा स्थगित गर्नु पर्ने माग गर्दै विद्यार्थी संघसंगठनले राजधानीको माइतीघर मण्डलामा शुक्रबार एक घन्टा चक्काजाम गरेका छन्।
अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले शिक्षा ऐनको नवौं संशोधन खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट शिक्षक स्थायी प्रक्रिया थाल्नु पर्ने र चैत २३ को परीक्षा स्थगित गर्न माग गर्दै शुक्रबार १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन्।
नवौं संशोधनमा ७५ प्रतिशत आन्तरिकबाट तथा २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्ने व्यवस्थाविरुद्ध विद्यार्थीहरू आन्दोलनमा छन्। नेविसंघ अध्यक्ष नैनसिंह महरले चैत २३ गतेको परीक्षा स्थगित गर्नुपर्ने बताए।
बिहान देशभरका क्याम्पसअगाडि प्रदर्शन तथा आधा घन्टा चक्काजाम गरेको उनले बताए। विद्यार्थी संघसंगठनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएर चैत २३ को परीक्षा स्थगित गर्न माग गरेका थिए।
परीक्षा स्थगितको माग गर्दै भद्रकालीमा शिक्षक र माइतीघर मण्डलामा विद्यार्थीले आमरण अनसन जारी राखेका छन्।
चक्काजामपछी आयोजित कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरू नेविसंघका महर, अखिलका महेश बर्तौला र अखिल क्रान्तिकारीका रञ्जित तामाङले २३ गते हुने परीक्षा खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताए।
यसअघि नै विज्ञप्ति जारी गर्दै तीनै विद्यार्थी संगठनले चैत १८ गतेदेखि शैक्षिक हड्ताल गरिने जनाएका छन्।
यसैबीच राजधानीको भद्रकाली र माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षक–विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
बाराका शिक्षक धर्मेन्द्र ठाकुर बाम्हण, नुवाकोटका शिक्षक नरबहादुर बस्नेत दश दिनदेखि अनसनमा छन्।
शिक्षाशात्र संकाय पढिरहेका राजन लम्साल, हेमराज थापा र मिलन बाँस्तोला पाँच दिनदेखि अनसनमा छन्। अनसनरत शिक्षक बस्नेत र विद्यार्थी बाँस्तोलाको स्वास्थ्य अवस्था बिग्रँदै गएको हो।
शिक्षक बस्नेतको अवस्था गम्भीर रहेकोले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाएको संयुक्त अस्थायी÷करार शिक्षक केन्द्रीय संघर्ष समितिका कार्यवहाक अध्यक्ष हरिवंश पराजुलीले सेतोपाटीलाई बताए।
‘नरबहादुरजीको स्वास्थ्य अवस्था नाजुक छ। स्वास्थ्यकर्मी पठाइदिन स्वास्थ्य मन्त्रालयलाई भने पनि स्वास्थ्यकर्मी आउन ढिला गरे’ उनले भने।
अनसनरत शिक्षक–विद्यार्थीको स्वास्थ्य वीर र शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले हेर्दै आएका छन्।
माइतीघर मण्डलामा अनसनरत विद्यार्थी बाँस्तोलाको पनि स्वास्थ्य अवस्था बिगँ्रदै गएपछि आज विहान वीर अस्पतालमा परीक्षण गरिएको छ।
विद्यार्थी पुष्कर शर्माका अनुसार शिक्षक सेवा आयोगले चैत २३ गतेको परीक्षा स्थगित गरेको घोषणा नगरेसम्म अनसन भइरहन्छ।
‘वार्ता समिति गठन भएको छ भन्ने सुनेका छौं। अहिलेसम्म वार्ताका लागि बोलाइएको छैन। २३ गतेको परीक्षा स्थगित गरी खुल्ला प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्नुपर्छ’ शर्माले भने।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको नेतृत्वमा मन्त्रालयका प्रवक्ता हरि लम्साल र सहसचिव केशव दाहाल सम्मिलित वार्ता समिति गठन भएको छ।
वार्ता सहभागी हुनेको नाम मागेको समितिले वार्ताका लागि खबर नगरेको पराजुलीले दाबी गरे।
‘वार्ताका लागि सहभागी हुनेहरुको नाम मागेपछि हेम चौलागाइँ, शान्ति शाही, नारायण अर्याललगायतको नाम पठाइयो तर वार्ताका लागि खबर आएन’ पराजुलीले भने, ‘अनसनरत शिक्षकको स्वास्थ्य परीक्षण नियमित भएको छैन। हाम्रा माग जायज भए पनि सरकारले सुन्दै सुनेको छैन।’
शिक्षक सेवा आयोगले २३ गतेको परीक्षा स्थगित गरी ०७२ असोज २ गतेपछि नियुक्ति लिएका छ हजार भन्दा बढी अस्थायी शिक्षकलाई पनि परीक्षामा सहभागी गराउने वातावरण मिलाउनु पर्ने उनले बताए।
आन्तरिक तर्फबाट ७५ प्रतिशत कोटा छुट्याएर अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रतिवद्धा विपरीत ३०÷३५ प्रतिशत मात्रै कोटा दिन लागिएकोमा अस्थायी शिक्षकले विरोध गरेका छन्।
शिक्षकको भन्दा विद्यार्थीको माग फरक छ। छ लाखभन्दा बढी लाइसेन्सप्राप्त नयाँ जनशक्ति तयार भइसकेको अवस्थामा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक स्थायी गरिनुपर्ने माग विद्यार्थीले गर्दै आएका छन्।
अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले २३ गतेको परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापन पत्र समेत बुझाएका थिए। शिक्षा ऐनको नवौं संशोधन खारेज गरी नवौं संशोधनका गल्तीहरु दशौं संशोधनबाट सच्याउनुपर्ने विद्यार्थी संगठनको माग छ।
शिक्षा ऐन नवौं संशोधनमा आन्तरिकबाट ७५ प्रतिशत शिक्षक स्थायी गर्ने र बाँकी विज्ञापन गरी खुल्लाबाट शिक्षक स्थायी गर्ने व्यवस्थाको विद्यार्थीले विरोध गर्दै आएका छन् भने सोही व्यवस्थाको कार्यान्वयन हुनुपर्ने शिक्षकको माग छ।
शिक्षक सेवा आयोगले भने २३ गते परीक्षा गर्ने तयारीसहित केन्द्रसमेत निर्धारण गरिसकेको छ। आयोगले खुलाएको २२ हजार ७६ पदका लागि २३ हजार दुइ सय ८६ जनाले परीक्षा दिने तयारी गरेका छन्। देशभर ३६ हजार अस्थायी शिक्षक छन्।