हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ।
मानसरोवरको मूलद्वारका रूपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ। सरसफाइमा बुलबुले ताल तथा उद्यान क्षेत्रमा भएको मानव निर्मित फोहरको व्यवस्थापन गरिएको छ।
सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘समाजमा भएको फोहरसँगै हाम्रो दिमागी फोहर पनि हटाउन आवश्यक छ र बसेर खानेलाई घृणाका पात्र बनाउनु पर्छ।’ विदेशी नभई अब स्वदेशको श्रममा रमाउन सिक्नुपर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए।
उनले बुलबुलेलाई स्वर्ग पुगेको अनुभूति गराउने र काक्रेविहारलाई इतिहासको झल्को दिने क्षेत्रका रूपमा विकास गर्ने बताए। खासगरी नेपालको पर्यटनको गन्तव्य कर्णाली प्रदेशलाई बनाउने प्रमुख लक्ष्यका साथ ‘रारा पर्यटन वर्ष २०७५’ मनाउन थालिएको र वैशाख १ गतेका दिन त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उनले जनाए।
वन तथा पर्यटनमन्त्री नन्दसिंह बूढाले प्रदेश सरकार कर्णाली प्रदेशको जैविक विविधता संरक्षण र पर्यटन प्रवर्द्धनका लागि पर्यटन नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताए।
यता उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ३१ बिगाहा क्षेत्रफलमा फैलिएको बुलबुले ताल र उद्यान क्षेत्र पर्यटकीय ताल मात्र नभई सांस्कृतिक ताल भएको बताए। भवन आवास कार्यालयको सहयोगमा पाँच करोडमा ताल निर्माण भइरहेको छ।
सरसफाइ कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सामाजिक विकासमन्त्री दलबहादुर रावल र यातायात तथा भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, प्रमुख सचिव सुरेश प्रधानलगायत प्रहरी प्रमुख, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो ।रासस