प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन्।
नेपाल जैन परिषद्ले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याण महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मानिस मानसिक, आत्मिक रूपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुँदैन भन्ने महशुस गर्दछ। जब यस्तो भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ति कायम हुन्छ।’
यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ।
समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन्। ‘२६१७ वर्षअघि जन्मनु भएका महावीर जैनको सान्दर्भिकता अझै उस्तै छ’ प्रधानमन्त्री ओलीले भने,‘मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवन चर्याको चर्चा अहिले पनि उत्तिकै सान्दर्भिक छन्।’
प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताएका छन्। ‘अब सबै जात, धर्म,सम्प्रदायले देशर देशबासीको हित,सुख र समृद्धिमा लाग्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भनेका छन्।
देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवर्द्धनमा सबै लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।