निर्वाचन हारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ।
तीन वटै तहमा अनपेक्षित हार बेहोरेको कांग्रेसले छलफलबाटै हारका कारण खोजी गर्न चैत ९ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक राखेको थियो।
निर्वाचनमा भोग्नुपरेको पराजय पहिचान गरी पार्टीलाई थप सशक्त बनाएर अघि बढाउने विषयमा छलफल केन्द्रीत रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा ३० जनाभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधरले सभापति शेरबहादुर देउवाको कटुआलोचनामा समय खर्चेका छन्। नेतृत्वको कार्यशैली र अदूरदर्शी निर्णय लिँदा पार्टीलाई घाटा परेको पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाले आरोप लगाएका छन्।
केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचन हारको दोष पार्टी सभापतिलाई मात्रै थुपार्न नहुने र सबैले हारको जिम्मा लिएर पार्टीलाई अगाडि बढाउनुपर्ने बताइसकेका छन्। देउवा पक्षधरले नेतृत्वको बचाउ गर्दै धारणा राखेका छन् भने पौडेल पक्षधरले नेतृत्वको विपक्षमा धारणा राख्दा बैठक लम्बिएको छ।
१३ औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि अधिवेशन सकिएको दुई महिना भित्रमा पूर्णता दिनु पर्ने पदाधिकारी मनोनयन र विभाग गठन अहिलेसम्म नभएकोमा केन्द्रीय सदस्य नेतृत्वप्रति रुष्ट छन्। भातृ तथा शुभेच्छुक संघसंस्थालाई निर्वाचनमा सक्रियतापूर्वक खटाउन नसकेकोप्रति पनि नेतृत्वको आलोचना हुने गरेको छ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले विधान विपरीत सभापतिले गठन गरेका कार्यसम्पादन समिति भंग गर्दै पार्टीलाई संघीय संरचनाअनुसार लैजान छिटो विधान समिति गठन गर्नुपर्नेमा बैठकले ठोस निर्णय लिने बताए। निर्वाचनमा पार्टीले बेहोरेको हारको खोजी गरी भविष्यमा पार्टीलाई बलियो शक्तिको रूपमा पुनः उभ्याउने रणनीतिक प्रस्ताव आफूहरूले लिखित रूपमै बैठकमा पेश गर्ने तयारी गरेको पौडेलले बताए।
यसअघि पूर्वमहामन्त्री सिंह र नेता शेखर कोइरालाले लिखित प्रस्ताव पेश गरिसकेका छन्। बैठकमा सभापति देउवासहित नेताहरू उपस्थित छन्। आज संघीय संसद चल्ने भएकोले दिउँसो १ बजेसम्म मात्रै बैठक चल्नेछ।