सरकारले सार्वजनिक विदा कटौति गरेको छ। आउँदो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ। ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने बुधवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्पराको अन्त्य गरेको छ।
अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ।
कटौती गरिएका बिदाहरू
गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन्।
अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने मन्त्रिपरिषदले निर्णय गरेको छ।
संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । अब संविधान दिवसबाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा नहुने मन्त्रिपरिषदले निर्णय गरेको छ।
सरकारले बडादसैंमा दिइँदै आएको बिदासमेत घटाएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले ५७ हजार २ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ।
संघीय सरकारमा २१ मन्त्रालय रहने निर्णय पनि पास भएको छ। यी सबै मन्त्रालयमा जम्मा २ हजार ६ सय ५४ कर्मचारीको दरबन्दी रहने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यसअघि केन्द्रिय सरकारका विभिन्न मन्त्रालयमा ३ हजार २ सय ६० कर्मचारीका दरबन्दी थिए।