नेकपा एमाले र नेकपा माओवादीबीच प्रधानमन्त्रीको भारत भ्रमण अघिनै पार्टी एकता गर्ने समझदारी भए पनि कतिपय विषयमा विवादका कारण अन्यौलता देखिएको छ।
एमाले र माओवादी केन्द्रबीच अन्तरिम विधानको विषयमा निर्णय गर्न गठित कार्यदलमा ‘जनयुद्व’ शब्द र चुनाव चिन्हमा विवाद देखिएको हो। कार्यदलमा रहेका एमाले सदस्य बेदुराम भुषालले चुनाव चिन्ह र प्रस्तावनामा ‘जनयुद्व’ शब्द राख्ने कि नराख्ने भन्ने विषय टुङ्गो नलागेको सेतोपाटीलाई बताए।
एमालेकै अर्का नेता सुरेन्द्र पाण्डेले दुवै विषयमा सहमति जुटाउने जिम्मा कार्यदलमा रहेका एमालेका ईश्वर पोखरेल र माओवादी केन्द्रका रामबहादुर थापा बादललाई दिइएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चैत २३ गते बाट हुने आफ्नो भारत भ्रमण अघि एकता टुङ्ग्याउन प्रस्ताव गरेका थिए। तर कार्यदलमा सहमति नजुटेपछि प्रधानमन्त्रीको भ्रमण अघि एकता हुने नहुने समेत अन्यौल पैदा भएको छ।
एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने विषयमा भने कार्यदलले समझदारी जुटाएको छ। त्यस्तै ९९ सदस्यीय पोलिटब्यूरो र ३३ सदस्यीय स्थायी समिति राख्ने समझदारी जुटाएको हो।
कार्यदलमा प्रस्तावमा जनयुद्व उल्लेख गर्ने कि नगर्ने विवाद भएको थियो। माओवादी केन्द्रका नेताहरूले अन्तरिम विधानको प्रस्तावनामा जनयुद्व शब्द राख्नुपर्ने बताएका थिए। माओवादीले ‘जनयुद्व र त्योसँग अन्तरसम्बन्धित रहेर भएको २०६२/६३ को जन आन्दोलन’ भन्ने शब्द राख्नुपर्ने प्रस्ताव गरेको थियो। तर एमाले नेताहरूले प्रस्तावमा असहमति प्रकट गरेका थिए।
उता माओवादी केन्द्रका नेताले भने पार्टीको चुनाव चिन्ह सूर्य राख्न गरेको प्रस्तावमा विरोध गरेका थिए। माओवादी केन्द्रले सूर्य भित्र हँसिया र हथौडा राख्न प्रस्ताव गरेको हो। यसअघि प्रतिनिधि सभाको निर्वाचन अघिनै माओवादीले सूर्य चुनाव चिन्ह स्वीकार गरेको थियो। तर माओवादीले अडान परिवर्तन गर्दै सूर्य भित्र हँसिया र हथौडा राख्न प्रस्ताव गरेको हो।
बैठकमा केन्द्रीय सदस्यमा एमाले र माओवादीको सदस्य बराबर हुनुपर्ने विषय नउठेको पाण्डेले बताए। ‘समानताको आधारमा केन्द्रीय समिति हुनुपर्छ भनेर हामीलाई भनेको छैन’, पाण्डेले सेतोपाटीसँग भने। उनले अन्तरिम विधान टुङ्गो लगाएर एकता संयोजन समितिमा पेश गर्ने जिम्मा दुई नेतालाई दिएको बताए।
दुई पार्टीले केन्द्रमा पार्टीमा नौ तह राख्ने सहमति पनि जूटाएका छन्। केन्द्रमा (स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी) त्यसपछि राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश किमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, प्रदेश सभा क्षेत्र कमिटी, नगर-गाउँ किमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी रहने सहमति जुटेको हो।
जिल्ला कमिटी ७५ देखि १ सय २५ सदस्यीय सम्म बनाउने सहमति पनि जुटेको भुषालले बताए।