प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको सम्वृद्धिका लागि पुराना मनोविज्ञान हटाएर नयाँ र साझा मनोविज्ञान बनाउन जरुरी रहेको बताएका छन्।
मुख्यमन्त्रीको आधिकारिक वेबसाइट र मोबाइल एपको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले पुराना र क्षेत्रियताको मनोविज्ञानले सिंगो प्रदेशको सम्वृद्धि नहुने बताएका हुन्।
‘कसैले लुम्बिनीको हुँ भन्ने देखाउने, कसैले राप्तीको हुँ भन्ने देखाउने मनोविज्ञानले हाम्रो सम्वृद्धिको लक्ष्य पुरा हुन सक्दैन सम्वृद्धिको लागि सबैभन्दा पहिला पाँच नम्बर प्रदेशमा साझा मनोविज्ञान बनाउन जरुरी छ,’ उनले भने।
मुख्यमन्त्री पोखरेलले पारदर्शी र उत्तरदायी सरकारको निर्माण तथा जनताको सुसूचित हुने अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने दिशामा वेबसाइट र एपले गतिशील पुलको काम गर्ने विश्वास व्यक्त गरे।
‘अहिलेको युग सूचना प्रविधिको युग भएकोले यसको सही तथा भरपर्दाे प्रयोगले जनतालाई छरितो र सहज बनाउँछ’,उनले भने।
प्रविधिको प्रयोगबाट प्रदेशमा भएका विकासका गतिविधिहरूको अनुगमन तथा मुल्याङ्कन गर्न सक्ने भएकोले नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्ने उनले दाबी गरे।
सार्वजनिक गरिएको वेबसाइटबाट मुख्यमन्त्री सचिवालयबाट प्रेषित जनसरोकारसँग सम्वद्ध समाचार तथा सूचना, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमहरूको सूचना, मुख्यमन्त्रीसँग भेटघाटको लागि अनलाइनबाट समय लिने व्यवस्था, प्रदेशमा रहेका साना ठूला सबै प्रमुख आयोजनाहरूको अद्यावधिक स्थिति, मुख्यमन्त्रीलाई प्रदेश संवद्ध गुनासो तथा सुझावहरू तत्काल दिन पाउने व्यवस्था, तथा समृद्धि संवाद अन्तर्गत आवश्यक तथा सान्दर्भिक विषयमा नियमित रूपमा मुख्यमन्त्रीको धारणा लगायतका विषयहरू यसमा उपलब्ध हुने छन्।
प्रदेशको नामको टुंगो लागेपछि आधिकारिक डोमेन नाम छनौट गरिने समेत बताइएको छ। त्यसैगरी, मुख्यमन्त्री पोखरेलले प्रदेशको आधिकारिक नक्सा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै केही समयभित्र नै त्यसलाई सार्वजनिक गरिने बताए।
पाँच नम्बर प्रदेशमा रहेका ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरूको पहिचान गर्न समेत नयाँ बनाइँदै गरेको नक्साबाट सहयोग पुग्ने बताए। अंग्रेजी र नेपाली दुवै भाषामा रहेका वेबसाइट र मोबाइल एप स्मार्टस् मोबाइलबाट डाउनलोड गरी हेर्न सकिने छ।
सूचना र प्रविधिको युगमा सूचनाहरू छिटो र छरितो प्रदान गर्ने अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै यो सञ्चालनमा ल्याइएको हो। यसले पारदर्शीता तथा सुशासन पनि कायम गर्ने प्राविधिकहरूको विश्वास छ।
काठमाडौंको प्रेक्षा कम्पनीले निर्माण गरेको डोमिनलाई www.
pradesh-5.com (डब्लु डब्लु डब्लु डट प्रदेश ड्यास फाईब डटकम) बाट खोल्न सकिने छ भने एपलाई मोबाइलको प्ले स्टोरमा गई शंकर पोखरेल सर्च गरी डाउनलोड गर्न सकिने छ ।