प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन्।
‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’ प्रधानमन्त्री ओलीले भने,‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवर्द्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताएका छन्। ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले नेपाल बनाउँछ। केही वर्षमा मानिसहरूले नेपाललाई सिंगापुर र स्वीटजरलेण्ड जस्तो भन्नेछन्।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताएका छन्। तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरूलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिएका छन्। ‘सरकार जनताको सेवक हो। कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने,आतंक फैलाउनेहरूलाई चाहीँ छोड्दैन।’
प्रधानमन्त्री ओलीले महासंघले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव नपारे पनि उसका विचारले राजनीति प्रभावित भएको बताएका छन्।
‘समाजको गरिखाने वर्गलाई अधिकार दिलाउने,उनीहरूको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ’ प्रधानमन्त्री ओलीले भने ‘अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो।’
प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताएका छन्। ‘यसपालि म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरीका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउँछु’ प्रधानमन्त्री ओलीले भने, ‘जिफन्टले पनि यस अभियानको तयारी गर्नुहोस्। यसपालि वैशाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं।’
भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्घोष गरेका छन्।