उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ।
सात वर्षपछि पहिलो पटक चीन गएका उनले समकक्षीसँग भेटवार्ता गरेको चिनीयाँ सञ्चारमाध्यन सिन्ह्वालाई उदृद्ध गर्दै बिबीसीले जनाएको छ।
सिन्ह्वा समाचार संस्थाले राष्ट्रपति सी र किमबीचको भेटवार्तालाई 'सफल' भनेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको अनौपचारिक भ्रमणका लागि किम मार्च २५ (आइतबार) बेइजिङ आएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। किम बुधबार स्वदेश फर्किएका छन्। किमको बेइजिङ यात्रालार्इ ३ दिनसम्म गोप्य राखिएको थियो ।
खबर अनुसार बेइजिङको ग्रेटहलमा सी र किमले भेटवार्ता गरेको बताइएको छ । सी र उनकी पत्नी पेङ लियुनले किम र उनकी पत्नी ‘री सोल जु’लालाई स्वागत गरी बैंक्वट संयुक्त रुपमा साँस्कृतिक कार्यक्रम हेरेका थिए ।
यी कार्यक्रमहरुमा चिनियाँ (प्रिमियर) प्रधानमन्त्री, उप–राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेताहरुको सहभागिता रहेको चिनियाँ सञ्चार माध्यामले खबर दिएका छन् ।
भेटका क्रममा किमले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र चिनियाँ राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा सीलाई बधाई दिएका थिए।
सन् २०११ मा सत्ता सम्हालेयता यो किमको पहिलो विदेश भ्रमण हो।
संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताअघि यो भ्रमण भएको हो।
चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ। तर आगामी वार्ताहरूमा बेइजिङको भूमिका के हुन्छ भनेर प्रष्ट भइसकेको छैन्।
यसअघि यसै साताको सुरुमा जापानी सञ्चारमाध्यमहरूले एउटा विशेष रेलमा एक जना उच्च पदस्थ व्यक्तित्व चीन आइपुगेको विवरण प्रकाशन गरेका थिए।