न्यायपरिषदले प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषदमा पठाएको छ।
प्रधानन्यायाधीशको सिफारिस संवैधानिक परिषदले गर्छ। आज बसेको न्यायपरिषद बैठकले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको अभिलेख पठाएको हो।
प्रधानन्यायाधीशका लागि सर्वोच्चमा न्यायाधीशको रुपमा ३ वर्ष काम गरेको अनुभव चाहिन्छ। ३ वर्ष काम गरेका तीनै न्यायाधीशको नाम परिषद्ले पठाएको हो। तीनै जना योग्य भएपनि बरिष्ठतमलाई मात्र प्रधानन्यायाधीशका बनाउने चलन छ। यी तिन मध्ये जोशी बरिष्ठ हुन्।
यी तीन मध्ये एकलाई सिफारिस गरेर संवैधानिक परिषदले संसदीय सुनुवाईको लागि पठाउँछ। सुनुवाई पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्ने व्यवस्था छ।
गोपाल पराजुलीले राजीनामा दिएपछि प्रधानन्यायाधीशको पद रिक्त छ।