प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर’ गर्ने व्यवस्था हुने भएको छ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने प्रस्तावका विषयमा छलफल गरिएको हो। प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी विशेष व्यवस्था गर्ने प्रस्तावमाथि छलफल गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए। समितिमा सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले लिखित रूपमै जवाफ दिने व्यवस्था गर्ने विषयमा पनि छलफल गरिएको छ।
बैठकमा प्रतिनिधिसभामा दर्ता हुने प्रस्तावको सर्त, सूचना र संशोधनसम्बन्धी व्यवस्थाका विषयमा पनि छलफल गरिएको छ। त्यसैगरी संसदमा पेश हुने संकल्प प्रस्तावको कार्यविधिका प्रस्तावमाथि पनि छलफल गरिएको संघीय संसद सचिवालयका प्रवक्ता गौतमले बताए।
मस्यौदा समितिले गत शुक्रबारदेखि मस्यौदा निर्माणको काम सुरू गरेको हो। मस्यौदाको परिभाषा खण्ड र बैठक सञ्चालन विधिको विषयमा पनि छलफल भइसकेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।
संघीय संसद सचिवालयले तयार पारेको प्रस्तावित मस्यौदामा शून्य समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले साप्ताहिक रूपमा दिने प्रस्ताव पनि गरिएको छ। गत फागुन २२ गते गठन भएको समितिलाई १ महिनाभित्र आफ्नो प्रतिवेदन तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ। १३ सदस्यीय समितिले भने १५ दिनभित्र सक्ने गरी मस्यौदा निर्माणको कामलाई अघि बढाइएको जनाएको छ।