संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वीकृति नदिएपछि स्वेच्छिक अवकाशमा जाने कर्मचारीको नामवली प्रकाशनमा ढिलाइ भएको छ।
मन्त्री पण्डित सात वर्षको एकमुष्ट पेन्सन दिएर कर्मचारीलाई स्वेच्छिक अवकास दिन नहुने पक्षमा उभिएकाले स्वेच्छिक अवकास रोजेका कर्मचारीहरुको नामावली सार्वजनिक गर्न ढिलाइ भएको हो।
स्वेच्छिक अवकास एकाइले सबै निवेदन रुजु गरी कम्प्युटरमा इन्ट्री गरे पनि मन्त्री पण्डितको निर्देशन नआउँदा मन्त्रालयले नामावली सार्वजानिक गर्न सकेको छैन।
‘कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा आर्थिक हिसावले राज्यले नधान्ने तर्क गर्दै मन्त्रीज्यू कर्मचारीलाई स्वेच्छिक अवकास दिने पक्षमा हुनुहुन्न’ मन्त्रालयका एक कर्मचारीले भने, ‘आज नामावली सार्वजानिक गर्ने भनिए पनि सुरसार छैन।’
मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्वेच्छिक अवकास रोजेकाहरुको नामावली मंगलबार बेलुकासम्म सार्वजानिक हुन सक्ने बताए।
‘के गर्ने भन्नेबारेमा छलफल भइरहेको छ। आज बेलुकीसम्म सार्वजनिक होला। आज भएन भने भोलि पनि हुनसक्छ’ उनले सेतोपाटीसँग भने।
स्वेच्छिक अवकास रोक्नेबारे मन्त्री पण्डितबाट संकेत आए पनि निर्देशन नआएको उनले बताए। ‘मन्त्रालयहरुको संरचना कस्तो बनाउने भन्ने छलफलमा छौं, त्यसैले केही ढिलाइ भएको छ। स्वेच्छिक अवकासको विषयमा छलफल भइरहेको छ। नामावली सार्वजानिक रोक्ने भन्नेबारे मन्त्रीज्यूबाट लिखित निर्देशन आएको छैन, संकेत आएको छ।’
२० वर्ष सेवा गरेका ५० वर्ष उमेर काटेका नौ हजार छ सय ५६ जना कर्मचारीले स्वच्छिक अवकास रोज्दै निवेदन दिएका थिए। संघ, प्रदेश र स्थानीय तहमा खटेर जान नचाहने कर्मचारीले स्वेच्छिक अवकास रोज्न सक्ने कर्मचारी समायोजन ऐन २०७४ मा व्यवस्था छ। सोही ऐनको व्यवस्थाअनुसार पाँच जना सचिवसहित नौ हजार छ सय ५६ जना कर्मचारीले स्वेच्छिक अवकास रोज्दै निवेदन दिएका थिए।
मन्त्रालयले पाँच जना कर्मचारी परिचालन गरी स्वेच्छिक अवकास इकाइ नै खडा गरेर देशभरबाट प्राप्त निवेदनको रुजु गरेको थियो। स्वेच्छिक अवकास रोजेकाहरुको नामावली मन्त्रालयको वेबसाइटबाट सार्वजानिक गर्ने तयारीमा सोमबार अबेरसम्म कर्मचारीहरू काम गरेका थिए।
राज्यले लगानी गरी दक्ष बनाएका कर्मचारीलाई स्वेच्छिक अवकास होइन, काम लगाउने पक्षमा मन्त्री पण्डित छन्। खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिनेसमेत उनले चेतावनी दिइसकेका छन्। काम गर्न मन नभएका कर्मचारीलाई अवकासमा बस्न उनले यसअघि नै आग्रह गरिसकेका छन्।