नेपाली कांग्रेसका नेता नरहरी आचार्यले मुलुकमा भएको राजनीतिक परिवर्तनपछि अब के गर्ने भन्ने द्विविधा पार्टी नेतृत्वमा रहेको बताएका छन्।
चुनावी हारको समिक्षा गर्न पार्टी कार्यालयमा बसेको बैठकमा शनिबार ४ बुँदे लिखित प्रतिवेदन पेश गर्दै आर्चार्यले यस्तो बताएका हुन्।
'कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ। संघीय लोकतान्त्रीक गणराज्य नेपालको संविधान हामीले निर्माण गर्यौँ।तर संविधानभित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौँ,' उनले 'काँग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो। तर आफैले गरेको परिवर्तनपछि के गर्ने भन्ने द्विविधा नेतृत्व तहमा देखिएको छ।'
उनले पेश गरेको प्रतिवेदनमा कांग्रेस अब भविश्यमुखि बन्नुपर्ने उल्लेख छ।
'काँग्रेस कमजोर अवस्थामा आइपुगेको जनमतले देखाएको छ,' उनले भनेका छन्, 'यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार भविष्यमुखी बन्नुपर्ने छ।'
प्रतिकुल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन नसकेकाले कांग्रेसले चुनावमा राम्रो गर्न नसकेको उनको ठम्याइ छ। वामगठबन्धनको चुनौति सामना गर्न लोकतान्त्रिक गठबन्धन बनाएपनि कांग्रेस एक्लै परेको पनि उनले बताए।
निर्वाचनमा कांग्रेसको हार, कांग्रेस पुरानै ढर्रामा, पार्टी संरचनालाई पूर्णता र संघीय गणतन्त्रको पूर्णता गरि चार बुँदामा उनले आफ्नो एकपन्ने प्रतिवेदन प्रस्तुत गरेका थिए।