पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो ठाडो आदेशमा डोल्पामा बाटो खनेको भन्ने आरोपको खण्डन गरेका छन्। ‘मैले सडक खन्नका लागि कुनै पनि त्यस्तो आदेश दिएका छैन, त्यस्तो आदेश दिएको भन्ने कुरा सरासर गलत हो,’ शनिबार एक विज्ञप्ति जारी गर्दै उनले डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा न १ देखि पहाडासम्म सडक खन्ने विषयमा आफू जानकार नरहेको बताएका हुन्।
राज्यमन्त्री बुढाले स्थानीय तथा जिल्लाका राजनीतिक दलबीच सर्वदलीय बैठक बसेर सडक खन्ने काम भएको भन्दै उनले आफ्नो काम तथा म प्रति जिल्लाबासीले देखाएको सदभावको ईष्यालाई सहन नसकी यस्तो भ्रमाक र कपोकल्पीत कुरा आएको दाबी गरे।
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कुनै मेरो व्यक्तिगत फाइदा नभइकन डोल्पाली जनताको हितका लागि र समग्र पर्यटन क्षेत्रको विकासको लागि सडक खन्ने काम अगाढि बढेको हो । विकास गर्नु के नराम्रो हो र?’
पर्यटन राज्यमन्त्रीको ठाडो आदेशले बाटो खनिएको भन्ने सामाचार भ्रामक र झूटो भएको भन्दै उनले यस्ता झूटा समाचारबाट सचेत हुन सबै डोल्पाली जनतालाई आग्रह पनि गरेका छन् ।
सबैभन्दा ठूलो शक्ति जनता हुन् भन्दै राज्यमन्त्री बुढाले आफू जहिले पनि जनताको सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाए।