चुनावको समिक्षा गर्न भन्दै बसेको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार फेरि बस्ने गरी स्थगित भएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा आज तीन जना नेताले बोलेका थिए। पूर्व महामन्त्रीहरू प्रकाशमान सिंह, कृष्ण सिटौला र केन्द्रीय सदस्य नारायण खड्काले धारणा राखेपछि आज बैठक स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले बैठकमा ९ पन्ने प्रतिवेदन पेश गरेका थिए। उनले शेरबहादुर देउवाले प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा गरेका कामले चुनावमा प्रभाव परेको र कांग्रेस हारेको भन्दै उनको आलोचना गरे।
प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको समिक्षा गर्न बसेको बैठकमा बोल्दै सिटौलाले पनि देउवाको नेतृत्वमा प्रश्न गरेका थिए। उनले पार्टीको नीति रणनीति र नेताको प्रवृत्ति नफेरिए कांग्रेस समाप्त हुने पनि बताएका थिए।
खड्काले भने पार्टीभित्र गुट उपगुटका कुरा ज्यादा भएको भन्दै अब कांग्रेस सुधार्ने हो भने गुटबन्दीको अन्त्य हुनुपर्ने बताएका थिए।