एकीकृत पार्टीको संगठनात्मक विषयमा टुङ्गो गर्न बनेका विधान कार्यदलको बैठक नबस्दा एमाले र माओवादी केन्द्रबीचको एकताको गति सुस्ताएको छ।
कार्यदलका अधिकांश सदस्य मन्त्री भएपछि बैठक समेत बस्न सकेको छैन। वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा दुई पार्टीले एकता घोषणा गर्ने तयारी गरिरहेका छन्। तर, संगठनात्मक विषय टुङ्गोमा पुग्न सकेको छैन।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ गृह मन्त्री छन्। कार्यदलमै रहेका एमाले महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री छन्। त्यस्तै, कार्यदलका सदस्यहरू गोकर्ण विष्ट, रघुवीर महासेठ, गिरिराजमणि पोखरेल, वर्षमान पुन र मातृका यादव पनि मन्त्री छन्।
११ सदस्यीय कार्यदलका तीन जना विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मामात्र मन्त्री छैनन्। कार्यदलका सदस्य पाण्डेले अधिकाशं सदस्य मन्त्री भएका कारण बैठक बस्न नसकेको बताए।
‘मिटिङ बसेको छैन, अहिले केही छैन’, पाण्डेले भने, ‘अब बस्ला कि!’ सरकार निर्माण र मन्त्रीका आकांक्षी व्यवस्थापन तथा राष्ट्रपति/सभामुख लगायतका निर्वाचनका कारण संगठनात्मक विषय टुङ्गो लगाउने जिम्मा पाएको कार्यदलले काम गर्न नसकेको हो। वैशाख १० गते दुबै दलले पार्टीको केन्द्रीय समिति भंग गर्ने र दुई पार्टीको एकीकृत स्थायी समिति र केन्द्रीय समिति घोषणा गर्ने तयारी गरिरहेका छन्।
अर्कोतर्फ प्रतिवेदन मस्यौदा समितिले भने प्रारम्भिक मस्यौदा समेत तयार गरेको छ। प्रतिवेदन मस्यौदा समितिले राजनीतिक र सैद्धान्तिक विषमया टुङ्गो लगाउने जिम्मा पाएको थियो। फागुन ७ गते गठन भएका दुबै कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको थियो। प्रतिवेदन मस्यौदा कार्यदलले भने प्रारम्भिक रिपोर्ट तयार गरेर पार्टी अध्यक्षसहित सदस्यलाई अध्ययनका लागि दिएको छ।
‘हामीले प्रारम्भिक प्रतिवेदन तयार गरेर अध्ययनका लागि सदस्यलाई दिएका छौं’, सदस्य रघुजी पन्तले सेतोपाटीसँग भने, ‘अर्को बैठकबाट प्रतिवेदन टुंगो लाग्छ।’
माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा अन्तरिम राजनीतिक प्रतिवेदन तयार भएको बताए।
‘अहिले एमालेलेमा ४६ वटा समूह र नेकपा माओवादी केन्द्रमा ४१ वटा समूह मिलिसकेका छन्’, प्रचण्डले भने, ‘सबै भंगालो मिलेर दुई ठूला धार र दुई धार मिलेर नदी बन्ने हो। अनि त्यो नदी बृहत महासागरतर्फ जाने संश्लेषण भैरहेको छ।’
प्रचण्डले त्यही महासागरतर्फ अगाडि बढ्ने क्रममा मुलुकले समाजवादतर्फको यात्रा तय गर्ने बताए। प्रचण्डले संगठनात्मक विषयमा छलफलका लागि शनिबार माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक डाकिएको जानकारी दिए। निर्वाचनका क्रममा धेरै साना समूह पार्टीमा मिलेको र एकतामा पुग्नुअघि संगठनात्मक सेट तयार गर्न लागिएको प्रचण्डको भनाइ छ।