अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ।
यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए।
संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उनले बताए।
उनका अनुसार प्रदेश नम्बर १ को इटहरी, प्रदेश नम्बर २ को बर्दिवास, प्रदेश नम्बर ३ को हेटौंडा, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को बुटवल वा कोहलपुर, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको छ ।
ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ। उनले सर्वेक्षणपश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराए।
आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो।रासस