नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक अहिले केहिबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा मुख्यतः चुनावी समीक्षा र भावी रणनीतिबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
संघ तथा प्रदेश निर्वाचन सकिएको तीन महिनापछि आज बस्ने केन्द्रीय समिति बैठकमा चुनावी हारको समीक्षा गर्दै भावी रणनीति बनाउने र महासमिति बैठक तोक्ने तयारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा पार्टीको संरचनाबारे पनि छलफल हुनेछ। मुलुक संघीय संरचनामा गए पनि कांग्रेस पूरानै परिपाटीमा चलिरहेको छ। १३ औं महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीजस्ता पदाधिकारी नियुक्त गर्न नसकेको, भातृ संगठनलाई पूर्णता दिन नसकेकोजस्ता आलोचना हुने गरेको छ।
'विधानविपरित सभापतिले गठन गरेका कार्यसम्पादन समिति भंग गर्नुपर्छ, तत्काल मस्यौदा समिति बनाउनु पर्छ भन्ने कुरा हामी आजको बैठकमा राख्छौं,' कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ' चुनावी हारको समीक्षा गरेरमात्र बैठक सकिनु हुँदैन।'
सभापति देउवा सरकारमा हुँदा पार्टीले नराम्रो हार बेहोरेको भन्दै पार्टी र सरकार संचालनमा सभापति देउवा असफल भएको बरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै बताइसकेका छन्।
बैठकमा सभापति देउवासहित नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले फरक-फरक रणनीति बनाएर प्रस्तुत हुने तयारीमा छन्। सभापति देउवाविरुद्ध पछिल्लो समय पार्टीभित्र घेराबन्दी र आलोचना हुने गरेको छ।
यस्तै पार्टी संसदीय दलको सचेतकमा बालकृष्ण खाणलाई नियुक्त गरेपनि खाडले अस्वीकार गरेकोलगायत विषय पनि बैठकमा उठाउने तयारीमा केन्द्रीय सदस्यहरू छन्। कांग्रेस नेताहरूको निरन्तरको दबाबपछि सभापति देउवाले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।