राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित विपरित चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।
अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे।
उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक शक्ति भएको दाबी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए।
बिहिबार काभ्रेको धुलिखेलमा सुरू भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भए पनि निराश नभई उच्च मनोबलका साथ देश र जनताको सेवामा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रूपमा स्थापित गराउने दाबी समेत गरे। उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्ष भित्र अग्रणी शक्तिको रूपमा स्थापित गराउने गरी अभियान नै सञ्चालन गर्ने योजना अघि सारे।
अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे। २ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरू र पार्टीका भातृ संगठनका प्रमुखहरू सहभागी भएका छन्। अनुशिक्षण कार्यक्रममा निर्वाचनमा हार व्यहोर्नु पर्नाको कारणको खोजी गर्दै पार्टीको भावी रणनीति तय गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ।
https://www.youtube.com/watch?v=E9Sx5QsqhyY&feature=youtu.be