प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रूपमा विकास गर्ने बताएका छन्।
बिहिबार भक्तिपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नम्बर प्रदेश गरिबी र आर्थिक अभावका बीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रूपमा विकास गरी भ्रष्टाचारमुक्त प्रदेशका रूपमा परिचित गराउने बताए।
देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा टेवा पुर्याउने भन्दै शाहीले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रूपमा केन्द्र सरकारले कानूनमै सम्बोधन गर्नुपर्ने बताए।
प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानूनी प्रक्रिया बाधक रहेको र यसले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए।
उनले ठालू भएर अरुलाई काम लगाउने प्रवृतिको अन्त्य गर्दै युवा पुस्तालाई श्रमतर्फ अाकर्षण गर्ने गरी रोजगारी श्रृजना गर्नुपर्ने आवशर्यकता रहेको औँल्याए।
प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदा समेत विभिन्न खालका समस्या देखिएको उनले बताए।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्न र पूर्ण रूपमा बिषादीमुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उनले बताए।
उनले सामाजिक सञ्जालले विकासका गतिविधिभन्दा पनि विकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने बताए।
कर्णाली प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि आगामी वर्षलाई पर्यटन वर्षका रूपमा अगाडि बढाउँदै यस क्षेत्रमा रहेका अथाह सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको बताए।