खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा व्यक्त गरेकी हुन्।
कार्यक्रममा बोल्दै उनले भनिन्,‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पीरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु।’
साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको बताइन्।
उनले भनिन्,‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यहीँ भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पुनः सुचारु भएको छ।’
आफूले कडा रूपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौं भित्रिने मुख्यद्वार रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण कार्यलाई अघि बढाउन निर्देशन समेत दिएको उनको भनाइ थियो।
उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थ्रु’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन्।
‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पीरिटमा काम गर्न निर्देशन दिएको छु,’उनले भनिन्। मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरूलाई आग्रह समेत गरिन्।
तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रूपमा अघि बढाउने पनि उनले विश्वास दिलाइन्। त्यस्तै, उनले हिमाली रेञ्जको सरसफाइमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्।
काठमाडौं उपत्यका र सहरमा देखिएका पानीको समस्यालाई हल गर्नको लागि चुहावटलाई पनि रोक्ने उनको अठोट थियो। उनले भनिन्,‘पानीको समान पहुँच पुर्याउँछौ, उपत्यका र देशका विभिन्न सहरमा देखिएका समस्याहरूलाई वैज्ञानिक रूपमा हल गर्ने गरी म कार्यक्रम अघि बढाउँछु।’
त्यस्तै, उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रूपमा घोषणा गरेर काम गर्ने बताइन् । उनले भनिन्,‘संविधानको धारा ३० मा पनि सरसफाइको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्छौं।’
केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रूपमा विकास गर्ने पनि उनले सुनाइन् ।
‘त्यसको लागि प्राकृतिक र कृत्रिम रूपमा पनि पानीको बहाव बढाउँछौं’–उनले भनिन्।
मन्त्री मगरले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्वीमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाइन् ।
‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यहीँ स्पीरिटमा म काम गर्छु,’उनले भनिन्।