गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरूसँग खाना खाएका छन्।
बिहान महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रूपमा निरीक्षण गर्न पुगेका गृहमन्त्रीले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए।
सबै निरीक्षण सकेपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे। त्यहाँ खाना खाइरहेको प्रहरीहरू हतारहतार उठ्न खोज्दै थिए। उनले बसेर खाइराख्न आग्रह गरे। सो लगत्तै भान्सामा पुगेर ‘हामी पनि यहीँ खाना खान्छौं, पुग्छ’ भने प्रश्न गरे।
उनको प्रश्नबाट अकमकिएकाहरूले सुरूमा त विश्वास गरेनन्। पछि पुग्छ हजुर भनेर जवाफ दिए।
‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्रीले पहिले खाना खाइरहेको प्रहरीहरूसँग साथै बसे। उनको साथमा प्रहरी जवान चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रहरी जवानले साथै खान खाए।
गृहमन्त्रीको स्वकीय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए। दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन्।
सो लगत्तै वृत्तका प्रहरीहरूलाई निर्देशन दिँदै उनले जनताको जिउँ,धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे। सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्रीले त्यो असमानता हटाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।