गृहमन्त्री रामबहादुर थापाले कारगार सुधारका लागि आवश्यक योजना तत्काल ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री थापाले मंगलबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेलगत्तै सञ्चारकर्मीमाझ कारगार सुधार योजना तत्काल ल्याउने प्रतिक्रिया दिएका हुन्।
उनले केन्द्रीय कारगारमा ठूलो सुधारको आवश्यकता रहेको पनि बताए। ठाउँ सानो तर कैदी धेरै भएको पाइएको उल्लेख गर्दै यसको सुधारका लागि तत्काल काम सुरू गर्ने योजना पनि सुनाए।
गृहमन्त्री थापाले केन्द्रीय कारगारको सुधारका लागि तत्काल भौतिक संरचना निर्माण कार्य सुरू गर्ने पनि बताए।
गृहमन्त्री थापाले केन्द्रीय कारगारमा कैदी र बिरामी कैदीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने आश्वासन पनि दिए। निरीक्षणका क्रममा कैदीहरूले बिरामीहरूलाई समेत कैदी सरह व्यवहार गर्ने गरेको गुनासो गरेपछि उनले अब छुट्टाछुट्टै बाससहितको व्यवस्था गर्ने बताए। त्यस क्रममा गृहमन्त्री थापासँग झूटा मुद्दामा आफूहरूलाई फसाएको भन्दै तत्काल रिहा गर्न माग पनि गरेका थिए।
केन्द्रीय कारगार १ सय ४ वर्ष पुरानो कारगार हो। सरकारले यसको भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गर्दै आएपनि कार्यान्वयनमा भने ल्याउन सकेको छैन।