नेपाली कांग्रेसको प्रदेश नं. पाँच संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल सर्वसम्मत चयन भएका छन्। पाँच नं. प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेल उम्मेदवारी दिएको एक महिना पछि सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।
अरू चार जना सांसद सँगै ८१ वर्षिय पोखरेलले पनि संसदीय दलको नेताको लागि गत फागुन ६ गते उम्मेदवारी दर्ता गराएका थिए।
दलको नेताको लागि पोखरेलसँगै उम्मेदवारी दर्ता गराएका रुपन्देहीका फकरूद्धिन खाँ, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका बीर बहादुर राना र दाङका डिल्ली चौधरीले सोमबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डा. बुद्ध बहादुर थापाले जानकारी दिए ।
प्रदेश नम्बर पाँचको संसदीय दलको नेता चुन्नका लागि नेपाली कांग्रेसले पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई जिम्मा दिएको थियो।
खाँणले शुरुदेखि नै सहमतीको प्रयास गरे पनि आकांक्षी धेरै भएपछि सहमती जुट्न सकेको थिएन ।
लामोसमयसम्म पनि सहमती जुट्न नसकेपछि निर्वाचन समितिले सोमबार दिउँसो १ बजेको लागि निर्वाचनको मिति तय गरी अब निर्वाचन मिति नसार्ने जनाएपछि अन्तिम समयमा सहमती जुटेको हो।
‘पोखरेल पार्टिको मात्र नभई प्रदेश सभाकै जेष्ठ सदस्य समेत भएकोले पनि उहाँलाई सम्मान गरी दलको नेतामा सर्वसम्मत निर्णय गरिएको हो,’ उम्मेदवारी दर्ता गरेका एक नेताले बताए।
पोखरेलले जेष्ठ सदस्यको रुपमा प्रदेशसभा सांसदहरुको सपथ ग्रहणको लागि सभामुखको भुमिका समेत निर्वाह गरेका थिए।