प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन्।
चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताएका हुन्।
‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो ’ प्रधानमन्त्री ओलीले भने, ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ।’
जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन्। विद्यालयमा पढाइ चलोस् भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ। जनताको यो सपना पुरा हुन्छ।’
प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताएका छन्।
‘सबैले शान्तिको अनुभूति गरुन्। कसैलाई अन्याय नपरोस्’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छे देख्दा शत्रु होइन। दाजुभाइ दिदीबहिनी देखियोस्।’