प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज आफ्नो मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन्। सोमबार बिस्तार हुने मन्त्रिमण्डलमा ३ जना मन्त्री थपिने भएका छन्।
पोखरेलले मुख्यमन्त्रीको सपथ लिएको ३३ दिनपछि दोस्रोपटक मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन्।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले आज दिउँसो नेकपा एमालेका लिला गिरी र आरती पौडेल तथा नेकपा माओवादी केन्द्रका सुदर्शन बराललाई मन्त्रिपरिषद्मा सहभागी गराउने निर्णय भएको बताए।
एमालेका गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र माओवादी केन्द्रका बरालले बन, वातावरण र पर्यटन मन्त्रालयको जिम्मेवारी लिनेछन्।
गठबन्धनका दुवै पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको लागि स्थान अभाव देखाउँदै मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो।
पछिल्लो पटक हुन लागेको मन्त्रिपरिषद् विस्तार भने अझै पूर्ण भईनसकेको बताईएको छ। मन्त्रालयको लागि आवश्यक पूर्वाधार ब्यवस्थापन भए पछि अन्य मन्त्रीहरु थप गरिने बताईएको छ।