शनिबार सम्पन्न नेपाली कांग्रेस निकट शिक्षकसंघको चुनावमा रामचन्द्र पौडेल समूहका राजेन्द्र राज पौडेलको प्यानलले एउटा बाहेक सबै सिट जितेको छ।
शेरबहादुर देउवा निकट समुहले भने सहमहामन्त्रीमा चित्त बुझाएको छ। देउवा निकटबाट सहमहामन्त्रीमा महिला कोटाकी उम्मेदवार धनकला भण्डारीले जितेकी छन्।
अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा यम भुसाल, महासचिवमा सोमनाथ गिरि लगायत सबै पद पौडेलसमूहले जितेको छ।
कृष्ण सिटौला समुहले पौडेलपक्षलाई सहयोग गरेपछि देउवा गुटको हार भएको एक नेताले बताए।
शिक्षक संघमा पौडेल पक्ष त्यसैपनि बलियो रहेको अर्का नेताले जिकिर गरे। देउवागुट भित्रको अन्तरघातका कारण पनि पौडेलपक्षलाई जित्न सजिलो भएको उनले बताए।
'कांग्रेसको खानदानी रोग छ नि अन्तरघात नामक डाइबेटिज त्यो रोगले समातेर देउवा पक्षले हारेको हो,' ती नेताले ठट्टा गर्दै भने।
सिटौला पक्ष यसपाली देउवापक्षको विरुद्द देखियो।
पछिल्लो महाधिवेशन पछि कांग्रेसका पाँच भातृसंगठनको चुनाव भएको छ। यसअघि भएका दुईवटा भातृसंगठनको चुनावमा उसले देउवालाई सहयोग गरेको थियो।
विद्यार्थी संघ र महिलासंघमा देउवा र सिटौला समुहको प्यानल बनेको थियो। दुवै भातृसंगठनमा यहि संयुक्त प्यानलको जित भयो। तरुणदल र सांस्कृतिक संघमा भने पौडेलपक्षले भागबण्डा रोज्यो। चुनावको सट्टा सर्वसम्मतबाट पदाधिकारी छानिए।
प्रतिनिधिसभा चुनावपछि भने सिटौला समूहले देउवा समुहलाई साथ दिन छोडेको छ।
चुनावमा समानुपातिकका सांसद छान्दा देउवाले मनपरि गरेको भन्दै सिटौलाले केन्द्रियसमितिमै चर्को विरोध गरेका थिए।
प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको प्रमुख कारण नेतृत्वको अक्षमता भन्दै सिटौला समुहले नेतृत्व परिवर्तनको मुद्दा जोडदाररुपमा उठाएको छ।