प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मुख्य सचिव, सचिव, कर्मचारीलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्देशन दिएका हुन्।
उनले मन्त्रीहरूलाई मर्यादामा बस्न पनि सुझाएका छन्। ‘मन्त्री नियुक्त हुने बित्तिकै परिवारका सदस्यहरू चलमलाउने कुरा धेरै सुनिन्छन्’, प्रधानमन्त्री ओलीले भने,‘त्यस्ता व्यवहार बन्द गर्नुहास् । तपाईंका काम माथि अनुगमन हुन्छ। त्यसमाथि अर्को अनुगमन हुन्छ। र, मैले पनि अनुगमन गरिरहेको हुन्छ । केही तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन।’
ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिँदैन।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताएका छन्।
‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने ‘किन कि यो असधारण दायित्व बोकेको सरकार हो।’
‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा मागेर दिन कटाउनेहरूले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन्।’
सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरू परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।
‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनाबद्ध ढंगले काम गर्नुपर्छ। उपलब्धि देखिने गरी काम गर्नुपर्छ,’ प्रधानम्नत्ती ओलीले भने।
उर्जा,पर्यटन,सेवा,व्यापार,उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैँ अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताएका छन्।
‘हरेक क्षेत्रमा उपलब्धि हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नु होस्’ ‘कसैको दबाब वा प्रभावमा कोही पनि नपर्नुहोस् र नियम र कानून बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस्।’
प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई समयलाई ख्याल गर्न पनि निर्देशन दिएका छन्। हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाएका छन्।
‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस्,त्यसअनुसार उपलब्धि हासिल गर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘तर यस कारण,यदि,यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन।’
प्रधानमन्त्री ओलीले सचिवहरू बढुवा सरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने बताए।
‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन, ’ प्रधानमन्त्री ओलीले भने, ‘चुस्त ढंगले काम गर्नुहोस्। जनतालाई छिटो छरितो सेवा दिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ।’
देश रेमिट्यान्सबाट चलेको बताउँदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैरकानूनी भएको उल्लेख गरे।
‘हुण्डी कारोबारमा ध्यान दिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘रेमिट्यान्सलाई कानूनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजस्व संकलन हुनसक्छ।’
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाएका छन्। ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ‘यो किन सफा भइरहेको छैन ?’
सरकारले व्यवहार मै भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाउने बताए।
‘हिजोका सरकारले पनि शून्य सहनशीलता भन्थे तर कार्यान्वयनमा देखिएन’ प्रधानमन्त्री ओलीले भने, ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ। यसप्रति असहिष्णु हुन्छ।’
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री,राज्य मन्त्री , प्रधानमन्त्रीका मुख्य सल्लाहकार मुख्य सचिव र सचिवहरूको र सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति थियो ।