नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्।
शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उनको भनाइ थियो ।
'शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ', महासचिव मैनालीले भने । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उनले बताए ।
उनले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना भने रहेको धारणा राखे ।
'हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ', मैनालीले थपे। मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत बताए ।
पत्रकार समेलनमा राष्ट्रिय परिषद् सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय परिषद् अधिवेशन ३ गतेसम्म सञ्चालन भएको थियो ।