राष्ट्रिय सभा सदस्य एवम् कानूनविद रामनारायण विडारीले आजको मितिबाट न्यायालयलाई रुपान्तरण र सुधार गर्ने मौका मिलेको स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘सबै निकाय रुपान्तरण भएपनि न्यायापालिका अझै पनि रुढिवादी, परम्परागत रूपमा चलेको छ, श्रीमानका अगाडि सबै नतमस्तक हुने अवस्था छ, त्यहाँभित्र विकृति, अन्यायमात्रै छैन, भ्रष्टाचारको प्रतिष्पर्धा हुन्छ, आजको मितिबाट अब न्यायालय सुधार गर्ने मौका मिलेको छ, न्यायालयलाई सक्षम, सबल र जनउत्तरदायी बनाउनुपर्छ।’
विडारीले सर्वोच्च अदालतमा अत्यन्तै अराजक भैरहेको आरोप लगाए। उनले भने,‘फैसलाहरू प्रक्रिया अनुसार भएनन्, न्यायाधीशहरू आचारसंहिता विपरित चलिरहेका छन्, प्रधानन्यायाधीशलाई पनि अधिकार बढी भएको हो, गतिलो मुद्दा पाउनको लागि न्यायाधीशहरूबीच झगडा हुन्छ।’
न्यायपरिषद सचिवलालयद्वारा पत्र काटिएको विवाद अब सर्वोच्च अदालतले हेर्ने पनि उनको भनाइ थियो। उनले भने,‘सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यहीँ हुन्छ।’
अहिले देखिएको विवाद एक हिसवाले ‘कू’ जस्तो देखिएको बताउँदै विडारीले भने,‘दुवैतिरबाट अलि अलि बलजफ्ती भएको छ, प्रधानन्यायाधीश पदमुक्त भएको होइन।’