वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजीनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘उहाँको राजीनामाले न्यायालयलाई दुर्घटना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो।’
मैनालीले राजनीतिक भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्दा न्यायालय आज यो अवस्थामा गुज्रिनु परेको स्पष्ट पारे। उनले भने,‘न्यायाधीश नियुक्ति इमानदारिता, योग्यता र क्षमताको आधारमा गरिनुपर्छ।’
त्यस्तै, उनले न्यायापालिकाभित्र विकृति, विसंगति र भ्रष्टाचार भएको कुरा न्यायाधीशहरूकै सम्मेलनले स्वीकारिसकेकोले यस्तो विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्नको लागि संसदभित्र एउटा शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
ट्रान्स्परेन्सी इन्टरनेशनलले पनि प्रहरीपछि दोस्रो भ्रष्टाचार हुने निकाय न्यायालय भएको देखाएको र संसदीय सुनुवाइ समिति पनि औचित्यहीन भएकोले अब यसलाई रोक्नको लागि समिति गठन गर्न आवश्यक रहेको उनको भनाइ थियो।