प्रदेश नम्बर ३ को सरकारले कृषि योग्य जमिनमा घर बनाउन नदिने भएको छ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि योग्य जमिनमा घर बनाउने नदिने कानूनी व्यवस्था गर्ने घोषणा गरेका हुन्। उनले भू उपयोग नीतिलाई कडाइका साथ पालना गर्न मातहतका निकायलाई कडा निर्देशन पनि दिएका हुन्।
बुधबारबाट ललितपुरको पाटनमा सुरू भएको ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ को उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले उत्पादन बढाएमात्रै त्यसको मेला आयोजना गर्न सार्थक हुनेतर्फ प्रदेश सरकार सचेत रहेको पनि स्पष्ट पारे।
मुख्यमन्त्री पौडेलले भू-उपभोग नीतिमार्फत् कृषि योग्य जमिन मास्न नदिन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले उत्पादन योग्य जमिन मासिएकै कारण नेपालमा अनाजमा समेत परनिर्भरता झनै बढेर गएको स्मरण गराए।
४ दिनसम्म चल्ने मेलामा विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी राखिएको छ।