नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन्।
राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बुधबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
मंगलबार भएको निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भारी मतले निर्वाचित भएकी थिइन्। त्यस अवसरमा नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरू, नेपाल सरकार उच्चपदस्थ कर्मचारीहरू र नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित राष्ट्रपति भण्डारी यस अघि २०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
यसैबीच, राष्ट्रपति कार्यालयले भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको छ ।