प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको पेशी र इजलासमा नबस्ने निर्णय गरेका ८ न्यायाधीशले कार्यसम्पादन गर्ने सहज वातावरण नभएको भन्दै विदाको निवेदन दिएका छन्।
बुधवार दिउँसो उनीहरुले प्रधानन्यायाधीशलाई विदाको निवेदन छुट्टा छुट्टै बुझाएका हुन्। तर उनीहरुको निवेदनको भाषा भने एउटै छ।
'वर्तमान अवस्थामा न्यायपालिका सम्बन्धमा उत्पन्न असहज परिस्थितिको कारणबाट नियमित रुपमा अदालतमा उपस्थित भै कार्यसम्पादन गर्ने सहज वातावरण नभएको महसुस भएकाले मिति २०७४ साल चैत्र १,२,४,५ र ६ गरी ५ दिन विदामा बस्न् भएको हुनाले घर विदा स्वीकृत हुन अनुरोध गर्दछु,' विदा मागेको निवेदनमा उल्लेख छ।
८ न्यायाधीशमा हिजो इजलास नबस्ने निर्णय गरेका अनिल सिन्हा भने छैनन्।
दीपकराज जोशी, चोलेन्द्र शमशेर राणा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाश राउत, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानले ले छुट्टा छुट्टै निवेदन दिएका हुन्।
मंगलबार इजलामा बस्न अस्वीकार गरेका ८ न्यायाधीशका लागि प्रधानन्यायाधीशले आजपनि इजलास तोकेका थिए। तर न्यायाधीशहरुले उनले तोकेको इजलासमा बसेनन्।
कान्तिपुर र गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दा गर्दै उनले तोकेको इजलासमा बस्न नमिल्ने राय सुनाएर हिँडेका न्यायाधीश राणालाई प्रधानन्यायाधीशले हिजै देखि इजलास तोकेका थिएनन्।
पराजुलीले साउनमै अवकास पाउनुपर्ने प्रमाण भेटिएको भन्दै न्यायाधीश राणाले प्रधानन्यायाधीशनै नभएको व्यक्तिले तोकेको इजलासमा कानुनी र नैतिकताकै आधारमा नमिल्ने निर्णय सोमबार सुनाएका थिए।
न्यायाधीश राणाको आदेशपछि अरु न्यायाधीशले प्रधानन्यायाधीशलाई न्यायसम्पादनबाट अलग हुन सुझाव दिएका थिए। न्यायसम्पादनबाट पराजुली अलग नभएपछि ८ जना न्यायाधीशले उनले तोकेको इजलासमै नबस्ने निर्णय गरेका थिए। सोमबार देखि सर्वोच्च अदालतका इजलासहरु प्रभावित हुँदै आएका छन्।