नेपाली कांग्रेसले प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई संसदमा कसरी बोल्ने तरिका सिकाउन लागेको छ।
संसदमा कसरी बोल्ने भन्ने अभ्यासका लागि बुधवार दिनभरी प्रशिक्षण हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
'पहिलोपटक संसद भएकाले त्यहाँ कसरी बोल्ने तथा कस्तो व्यवहार गर्ने भन्ने जानेका हुन्नन्। त्यसैले कांग्रेस कार्यालयले यो कार्यक्रम राखेको हो,' उनले भने।
आज दिनभरि हुने प्रशिक्षणका चारवटा सेसनहरु छन्।
संसदीय अभ्यास, नियमावली, कार्यविधि लगायतका विपयमा व्यवस्थापिका संसदका पूर्व सचिव ठाकुर प्रसाद बरालले प्रशिक्षण दिने छन्।
आर्थिक विषयमा के बोल्ने भन्ने विषयमा रामशरण महतको सेसन छ। महतले विषेश गरेर प्रदेश सभाका सांसदहरुलाई बजेट निर्माणबारे कक्षा दिने छन्।
परराष्ट्र सम्बन्धका बारेमा भने प्रकाश शरण महतले सेसन चलाउने छन्। प्रदेशहरुले अन्य देशसँगको सम्बन्ध कसरी राख्ने विदेशीहरुसँगको चालचलन लगायतका विषयमा उनले कक्षा दिने छन्।
त्यस्तै संगठन निर्माणका बिषयमा विमलेन्द्र निधिको कक्षा छ।
यी चारैवटा सेसन पछि काँग्रेसले आफ्ना सदस्यहरुलाई रात्री भोज दिने प्रवक्ता शर्माले बताए।
कांग्रेसले पहिलोपटक आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखेको हो।