प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले दुई तिहाई बहुमतको दम्भ देखाइरहेको आरोप लगाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारकै कारण लोकतन्त्र खतरामा पर्न लागेको गम्भीर आरोप समेत लगाए।
बुधबार पार्टीका संघीय संसद र प्रदेशसभाका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण दिँदै सभापति देउवाले लोकतन्त्रलाई सुदृढ बनाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका हुन्।
उनले ५ वर्षपछि सरकारको नेतृत्व लिने गरी तयारी गर्न सिंगो पार्टी पंक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे।
निर्वाचनमा पराजय भएसँगै पार्टीमाथि ठूलो चुनौती थपिएको उल्लेख गर्दै सभापति देउवाले ती चुनौतीलाई सामना गर्ने गरी संसदमा प्रस्तुत हुन पनि सचेत गराए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले २ तिहाई बहुमतको दम्भ देखाइरहेको आरोप लगाए।
उनले सरकारले संवैधानिक संस्थाहरू एकलौटी कब्जा गर्न खोजेको गम्भीर आरोप लगाउँदै सचेत भएर अघि बढन पार्टीका सांसदहरूलाई निर्देशन दिए।
कांग्रेस नेता पौडेलले लोकतन्त्रलाई जोगाउन संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि पार्टीका सांसदहरूलाई सचेत गराए।